काठमाडौँ । नेपाली काँग्रेसको महाधिवेशनको मिति नजिकिए पनि क्रियाशील सदस्यता विवाद नराम्रोसँग चर्किएको छ । क्रियाशील सदस्यता विवाद समाधान हुन नसक्दा महाधिवेशन हुनेमा आशंका बढेको मात्र होइन अन्योल नै भएको छ । अहिले क्रियाशील सदस्यता विवादकै विषयलाई लिएर सानेपास्थित पार्टी केन्द्रिय कार्यालयको मूलगेटमा धनुषाका तीन नेता आमरण अनशनमा बसेका छन् भने बारा र सर्लाहीका नेता कार्यकर्ताले निरन्तर धर्ना दिइरहेका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी भाद्र १६ देखि १९ गतेभित्र हुने कार्यतालिका सार्वजनिक भए पनि हुने नहुने कुनै निश्चित छैन । क्रियाशील सदस्यता वितरणमा नै धाँधली भएको भन्दै काँग्रेसका प्रदेश नम्बर २ का नेता, कार्यकर्ताहरु पार्टी कार्यालयमा अनसनमा बसेका छन् । बारा र सर्लाहीका नेता कार्यकर्ता पनि उही आरोपसहित धर्नामा छन् । पूर्वराष्ट्रपति रामवरण यादवका छोरा पूर्वसांसद डा. चन्द्रमोहन यादव तीन दिनदेखि आमरण अनशनमा हुनुहुन्छ । उहाँले जिल्ला छानविन समितिले केन्द्रलाई दिएको सुझावको आधारमा सो सदस्यता वितरण सम्बन्धि विवाद समाधान गर्नुपर्ने बताउनुभएको छ । सो नगरे मान्य नहुने उहाँको भनाइ छ ।
यता धनुषा क्षेत्र नम्बर १ र ४ मा सबैभन्दा धेरै विवाद छ । त्यहाँका नेता तथा कार्यकर्ताहरुले छिटोभन्दा छिटो यो समस्या समाधान गर्न सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । धनुषाका कांग्रेस नेता रामपल्टन शाह पनि ३ दिनदेखि आमरण अनशनमा बस्नुभएको छ । उहाँले आफ्नो माग पुरा नभए पार्टीकै लागि ज्यान दिने चेतावनी दिनुभएको छ ।
बारा जिल्लाका पूर्वसांसदसहित नेता कार्यकर्ता १० दिनदेखि पार्टी कार्यालयको मूलढोकामा धर्नामा छन् । १३ औं महाधिवेशनमा विवाद भएपछि रोकिएका १६६ जना र सो बराबर थप गरिएका क्रियाशीलको नाम खारेज हुनुपर्ने र मापदण्डविपरीत बाँडिएको सदस्यता बदर हुनुपर्ने माग उनीहरुले गरेका छन् ।
सर्लाहीको विवाद पनि उस्तै छ । क्रियाशील सदस्यता विवादलाई लिएर पूर्वजिल्ला सभापति एवं पूर्वसांसद लक्ष्मण रायले पार्टीको विधानसम्मत ढंगले न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधलीको तत्काल छानविन नभए आफूहरु आमरण अनसनमा बस्न बाध्य हुने चेतावनी दिनुभएको छ ।
धर्नामा बसेकाहरुले जिल्ला छानविन समितिले दिएको सुझावलाई वास्ता नगरेको भन्दै पार्टी नेतृत्वप्रति आक्रोश समेत व्यक्त गर्दै आएका छन् ।
नेपाली कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने भने पनि अहिलेसम्म क्रियाशील सदस्यता विवाद कायमै छ । विवाद टुंगो लागेका भनिएका स्थानमा पनि नयाँ नयाँ विषयमा विवाद उब्जिएकोले तोकिएकै समयका कांग्रेस महाधिवेशन हुनेमा शंका उत्पन्न भएको छ ।
त्यसैगरी नेपाली कांग्रेसका संस्थापनइतर समूहका नेताहरुले पार्टी समायोजनका नाममा जथाभावी क्रियाशील सदस्यता नदिन आग्रह गरेका छन् ।
कांग्रेस केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति जारी गरी जथाभावी क्रियाशील सदस्यता वितरण गर्दा पार्टीको मर्ममाथि प्रहार भइरहेको बताएका छन् ।
विधि र प्रक्रिया नाघेर जथाभावी वितरण गरिएका क्रियाशील सदस्यताले कांग्रेसलाई बलियो नबनाउने भन्दै उनीहरुले यसलाई तुरुन्त रोक्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
‘समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नै प्रहार गरेको छ,’ १० नेताले भनेका छन्, ‘यसले आफ्नो सर्वस्व सुम्पेका साथीहरुको आत्मसम्मानमा प्रहार गरेको छ ।’
कांग्रेसभित्र पार्टी एकतामार्फत आएका विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका सुनीलबहादुर थापालाई दिएको क्रियाशील सदस्यता संख्यामा उनीहरुले प्रश्न उठाएका हुन् ।
क्रियाशील सदस्यता विवादले महाधिवेशन पनि तोकिएको समयमा हुनेमा संशय देखिएको नेताहरुले बताएका छन् । त्यसैले क्रियाशील सदस्यताको विवाद नलम्ब्याउन उनीहरुले माग गरेका छन् । ‘हामीसँग समयको सुविधा छैन र उपलब्ध समय समेत साँघुरिदै गएको छ । यस्तो बेलामा क्रियाशील सदस्यको विवादलाई कायम राख्नु र बढाउनु युक्तिसंगत हुदैन’ उनीहरुले भनेका छन् ।
पार्टीमा नयाँ सदस्यको आगमनले संगठनात्मक शक्ति बढ्ने भए पनि उनीहरुको उपयुक्त व्यवस्थापन गर्ने दायित्व पनि पार्टीको भएको युवा नेताको मत छ । ‘तर एकैचोटी पुराना साथीहरुको विस्थापन हुने गरी जथाभावी गर्नुहुँदैन । यसको हामीले सदैव ख्याल गर्नु पर्दछ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ । क्रियाशील सदस्यता छानबिन समिति र समायोजन समितिले पार्टीको लोकतान्त्रिक प्रतिष्ठा र छविको जगेर्ना गर्दै उत्पन्न समस्याहरुको विधिसंगत र तार्किक समाधान गर्नुपर्ने उनीहरुले बताएका छन् ।