काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका युवानेता महेश बस्नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहालको काम कठपुतली सरकारका नायक शेरबहादुर देउवाको पुच्छरमा बसेका झिंगा मार्ने भएको बताउनुभएको छ । मंगलबार राष्ट्रिय युवासंघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलालाई नयाँ बानेश्वरमा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
नेता बस्नेतले भन्नुभयो, ‘ गाउँघरतिर गाईभैंसीलाई चराउन जाँदा झिंगाले टोक्छ अनि पुच्छरले प्याट्ट हान्छ, त्यसको काम झिंगा मार्ने हो, आज प्रचण्ड र माधव पनि त्यस्तै भएका छन् र शेरबहादुर देउवाको झिंगा मार्ने अभियानमा उनीहरु हिँडिरहेका छन्।’
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन माधव नेपाल तथा प्रचण्डहरु कांग्रेसको पुच्छर बनेको उहाँले टिप्पणी गर्नुभयो । सोही क्रममा उहाँले एमालेका केही नेताहरु मन्त्री पाउने लोभमा कांग्रेसको पछि लागेको बताउनुभयो ।
एमाले पार्टीभित्र रहेर अर्को पार्टीलाई विश्वासको मत दिने गद्दारहरुले संविधान बचाउन र सदन जोगाउन देउवालाई मत दिएको भने पनि उनीहरुको भित्री अभीष्ट मन्त्री मात्र भएको उहाँले बताउनुभयो ।
पार्टीका गद्दारहरुले कमरेड केपी शर्मा ओलीले विश्वासको मत मागिरहँदा संविधान र संसद् बचाउन भोट हाल्ने हिम्मत किन गरेनन् भन्दै नेता बस्नेतले प्रतिप्रश्न गर्नुभयो । ‘एमालेलाई मत दिएर संविधान र संसद् बचाउँदा के हुन्थ्यो ? पार्टीको ह्वीप विरुद्ध किन कांग्रेसमा भोट हालियो ? देशी विदेशी शक्तिको साँठगाँठमा अन्य पार्टीको षडयन्त्रमा किन काम भयो ? नेता बस्नेतको प्रश्न थियो ।
अहिले केही अराजनीतिक तत्वहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउने दिवा सपना देखिरहे पनि त्यो पूरा नहुने नेता बस्नेतले बताउनुभयो । सदनमा अहिले पनि एमालेको बहुमत भएको बताउँदै उहाँले भन्नुभयो ‘राष्ट्रिय सभामा एमालेको स्पष्ट बहुमत छ, प्रतिनिधिसभामा एमालेविरुद्ध दुई तिहाइ पुर्याउन कसैको तागत पुग्दैन ।’ नेपालको कम्युनिष्ट आन्दोलन समाप्त पार्न देशीविदेशी प्रतिक्रियावादी शक्तिहरु लागिरहे पनि त्यो कदापि हुन नदिने बताउनुभयो ।