काठमाडौँ । देउवा सरकारले सत्ता र शक्तिको दुरुपयोग गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाका नाउँमा सुरक्षाकर्मी थपिएको छ ।
सरकारले मापदण्डमा १७ जनामात्र सुरक्षाकर्मी पाउने भए पनि रातारात सचिवस्तरीय निर्णय गर्दै दाहाललाई सुरक्षाकर्मी थपेको हो । प्रचण्डका लागि अहिले डिएसपीको नेतृत्वमा थप सुरक्षाकर्मी खटाइएको हो । गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा सचिवस्तरीय निर्णय गरेर नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) को नेतृत्वमा थप सुरक्षाकर्मी थपिएको छ ।
गृहको परिपत्र कार्यान्वयन गर्दै प्रहरी प्रधान कार्यालयले डिएसपी विनोद घिमिरेको नेतृत्वमा १० सुरक्षाकर्मी शनिबारदेखि दाहालको सुरक्षाका लागि खुमलटार खटाएको छ । अब दाहालको सुरक्षामा डिएसपीसहितका प्रहरीको गाडी अगुवा र सशस्त्रको गाडी पछुवाका रूपमा खटाइने भएको छ ।
केही महिनाअघि गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा मापदण्ड २०७७ जारी गरेको थियो । उक्त मापदण्ड अनुसार अघिल्लो सरकारले दाहालको सुरक्षामा रहेका ५५ सुरक्षाकर्मी फिर्ता गरेको थियो । उनको सुरक्षामा नेपाल प्रहरीबाट डीएसपीसहित २६ र सशस्त्रबाट इन्स्पेक्टरसहित ४७ जना सुरक्षाकर्मी खटिँदै आएकामा १८ जनामा सीमित गरिएको थियो । पूर्व प्रधानमन्त्रीका लागि सशस्त्र प्रहरीबाट १६ र नेपाल प्रहरीबाट २ जना खटाउने मापदण्ड छ ।