काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवाको सरकारलाई दिएको ‘टालाटुली बटुली कति राम्री पुतली’ रुपी सरकारले पूर्णता पाउनै निकै कठिन परेको छ ।
अध्यक्ष ओलीले एमालेको केन्द्रीय कमिटीको बैठकमा देउवाले लिएको बिस्वासको मत कबाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको ‘टालाटुली बटुली, कति राम्री पुतली’ जस्तो खालको सरकार भएको टिप्पणी गर्नुभएको थियो । आज त्यो टिप्पणी प्रमाणित हुँदै गएको छ । यसको प्रमाणका रुपमा गठबन्धन सरकारका नेताहरु टालाटुली बटुली गर्न नेता नेताका घरमा चहारिरहेका छन् ।
सोही सिलसिलामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टालाटुली बटुलेर सङ्घीय संसदमा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा निकै किचलो भएको छ । सत्ता साझेदार दलहरुबीच धेरै चरणमा छलफल बाक्लो बनाए पनि निष्कर्ष भने निस्कन सकेको छैन ।
यसै सन्दर्भमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेता माधवकुमार नेपालसँग मंगलबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गरे पनि सहमतिमा पुग्न नसकेको स्रोतले बताएको छ ।
यस्तै नेता नेपाललाई भेट्न माओवादी अध्यक्ष दाहाल र जसपा अध्यक्ष यादव कोटेश्वरस्थित उहाँकै निवासमा जानुभएको थियो । नेता नेपाल निवासमा बिहान भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिमण्डल विस्तारलगायत विषयमा विचारविमर्श भएको भनिए पनि सत्तामा सहमति हुन बाँकी रहेको बुझिएको छ ।
भेटका सम्बन्धमा दुबैतर्फका नेताले सञ्चारमाध्यमलाई औपचारिक प्रतिक्रिया दिएका छैनन् । सञ्चारमाध्यमलाई औपचारिक प्रतिक्रिया नदिनुले उनीहरुबीचको सत्ता लोलुपता र सहमति नभएको बुझिन्छ ।
यता जसपाका कार्यकारिणी समितिका सदस्य मोहम्मद इस्तियाक राईले अध्यक्ष यादव र नेता नेपालबीचको भेटमा सत्ताको बार्गेनिङ भएको तर कुरा मिलेको छैन ।
सत्ताकै खिचातानीका लागि जसपाको संसदीय दलको बैठक मध्यान्ह सिंहदरबारमा बस्दैछ । उक्त बैठक बस्नुअघि अध्यक्ष यादवले दलीय परामर्श गरेका हुन् । सत्ता साझेदारको प्रमुख घटक माओवादी अध्यक्ष ‘प्रचण्ड’ र नेता नेपालबीच पनि करिब एक घण्टा कुराकानी भए पनि कुनै निष्कर्ष निस्किएको छैन ।