काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना खोपलाई प्राथमिकता दिन आवश्यक नरहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सोमबारबाट सुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री ओलीले सबै नेपालीलाई पुग्ने गरी खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले नै गरेकाले त्यसलाई प्राथमिकता दिइरहन आवश्यक नरहेको बताउनुभएको हो ।
प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा कोभिड खोप लगाउने कामलाई प्राथमिकताका साथ अघि बढाउने बताउनु भएको थियो ।
सोमबारबाट सुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकको शुभारम्भमा बोल्दै उहाँले केही पनि नभएको ठाउँबाट सबै नेपालीलाई लगाउन पुग्ने गरी कोभिड खोपको आवश्यक व्यवस्था आफू नेतृत्वको अघिल्लो सरकारले मिलाएको दावी गर्नु भयो ।
अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरे पनि अन्य दलहरुले आफ्नो अस्तित्व रक्षाका लागि त्यसको विरोध गर्नुपरेको धारणा राख्नुभयो । सो अवसरमा उहाँले आफू नेतृत्वको अघिल्लो सरकारले संविधान, कानुन र लोकतान्त्रिक प्रक्रिया अनुसार मुलुकको समृद्धिको अभियानलाई अघि बढाएको, अन्तराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाएको दावी गर्नुभयो । अघिल्लो सरकारका राम्रा कामहरु देखिनसहने तत्वहरुले देशलाई बर्बाद गर्न लागेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।