काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मतमा भोट हालेरै छोड्ने माधव नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताउनुभएको छ । आज ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफुहरुले १० बुँदे स्विकार गरे पनि माधव नेपालले नमानेको बताउनुभयो ।
एमाले अध्यक्ष ओलीले देउवाले लिएको विश्वासको मत कबाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको ‘टालाटुली बटुली, कति राम्री पुतली’ भन्ने खालको सरकार भएको टिप्पणी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला सुरु गर्छन् । जनविरोधी काम सुरु गर्छन् । हाम्रो पंक्तिमाथि हुने सम्भाब्य षडयन्त्र र आक्रमण अनुमान गरेका छौं।’ उहाँले कांग्रेस बिगतदेखि नै आफैं आक्रमण गर्ने आफै मुद्दा हाल्ने प्रबृतिको पार्टी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘माओवादी शिथिल छ, नत्र उ पनि अपराधको कर्मबाट आएको पार्टी हो। हुन त प्रतिपक्ष कसरी अगाडि बढ्छ भन्ने कुरा हो ।’
उहाँले भन्नुभयो,‘एमाले चिचिलो काँक्रो जस्तो अरुले औंला ठडाएर देखाउदा झरेर जाने चिज होइन जनताको अपार समर्थन भएको पार्टी हो सबैलाइ याद होस् ।’
पार्टीमा गुटबन्दीको महारोगको नेतृत्व गर्ने माधव नेपालहरुले गरेको गद्धारीका लागि कारबाही गर्ने र अन्य फ्लोर क्रस गर्ने सबैलाइ २४ घण्टे स्पष्टिकरण सोध्ने । गल्ती स्विकार गरेर आउनेलाई अन्तिम अवसर दिने उहाँले बताउनुभयो । अर्को बैठक भोलि ३ बजे बसेर बाँकी प्रक्रिया पुरा गर्ने केन्द्रिय सदस्य एवं युवानेता महेश बस्नेतले जानकारी गराउनुभयो ।
देउवालाई मतदान गर्ने एमालेका सांसदहरु
– माधवकुमार नेपाल
– विरोध खतिवडा
– मेटमणि चौधरी
– गोपाल बम
– भवानी खापुङ
– कलिला खातुन
– मुकुन्द न्यौपाने
– रामकुमारी झाँक्री
– प्रेम आले
– विनादेवी बुढाथोकी
– किसान श्रेष्ठ
– मिना हुसेन
– कल्याणी खड्का
– सरला यादव
– धनबहादुर बुढा
– लक्ष्मी चौधरी
– जीवनराम श्रेष्ठ
– पुष्पा कर्ण शायस्थ
– निरा जैरु
– पार्वती विसुंखे
– हिराचन्द्र केसी
– कृष्णलाल महर्जन