काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । सो बैठक ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा जारी रहेको छ । आजको बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीको निर्देशन विपरीत विश्वासको मत दिने माधव नेपालसहित २२ जनालाई कारबाही हुन सक्ने नेताहरुको अनुमान छ ।
पार्टीका २२ सांसदले फ्लोर क्रस गरेर देउवालाई सोमबार मत दिएका थिए । आजको बैठकमा हिजो संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा भएको मतदानका विषयमा गम्भीर छलफल हुने जनाइएको छ । स्थायी कमिटी बैठकले यसअघि पार्टीको निर्णय विपरित देउवाको पक्षमा मतदान गरेमा त्यस्ता सांसद एमाले हुन नसक्ने निर्णय गरेको थियो । पार्टी निर्णयको उल्लंघन गर्ने माधव नेपालसहितका २२ जना सांसदलाई आजको केन्द्रीय कमिटी बैठकले के कस्तो कारबाही गर्छ भन्ने कुरामा सबैले ध्यान बैठकतर्फ केन्द्रित भएको छ । त्यसैले एमालेको यो बैठकलाई चासोका साथ हेरिएको छ ।

























