काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बिहान ११ बजे बस्ने तय भएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
सर्वोच्च अदालतको परमादेशबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएपछि अध्यक्ष ओलीले लगातार पार्टी संरचनाको बैठक राखिरहनुभएको छ ।
हिजो आइतबार भएको एमाले स्थायी कमिटिको बैठकले देउवाको पक्षमा मतदान गर्ने सांसदहरु एमाले रहन नसक्ने निर्णय गर्दागर्दै पनि पार्टीको निर्णय वा ह्वीप उल्लंघन गर्दै शेरबहादुर देउवाको पक्षमा २२ सांसदले विश्वासको मत दिएका थिए ।
शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान रहनुभएको छ ।
त्यस्तै गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पनि देउवालाई मत दिनुभएको थियो ।
आजको केन्द्रीय बैठकमा देउवालाई विश्वासको मत दिने सांसद्हरुको विषयमा पनि गम्भीर छलफल हुन सक्ने बताइएको छ । यसै बैठकले नेकपा एमालेमा विगत तीन महिनादेखि जारी एकताको प्रयासलाई अब कुन बाटोतिर अग्रसर गराउने भन्नेबारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । त्यसैले यो बैठकलाई निकै चासोका साथ हेरिएको छ ।