काठमाडौँ । सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गर्नुभएको छ । आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत प्राप्त गर्नुभएको हो ।
त्यस्तै देउवालाई ८३ जना सांसदले विश्वासको मत दिनुभएन । कांग्रेस सांसद गगन थापाले पनि देउवाले १६५ मत पाएको बताउनुभएको छ । तटस्थमा १ मत रहेको छ ।
देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिनुभएको छ । त्यस्तै एमालेको ओली पक्षका केही सांसदले पनि विश्वासको मत दिनुभएको छ । सांसदहरु प्रेम आले, कृष्णकुमार श्रेष्ठ ‘किसान’, गोपाल बम र धनबहादुर बुढाले देउवालाई मत दिनुभएको छ । एमाले कार्यालय सचिवसमेत रहेका सांसद शेरबहादुर तामाङले चार सांसदले देउवालाई मत दिएको पुष्टि गर्नुभएको छ ।
एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उहाँले सजिलै विश्वासको मत प्राप्त गर्नुभएको हो । असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
पाँच दलीय गठबन्धनका माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुनस्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गर्नुभएको थियो ।
विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउनुहुनेछ । अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ। यो समय गुजारेपछि देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचन गराएर विदा हुनुहुनेछ ।