काठमाडौं । सर्वोच्च अदालतको परमादेशमा पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज सुरु भएको छ । अदालतको परमादेशबाट नेपाली कांग्रेसलगायतको गठबन्धन सत्तापक्षमा पुगेको छ भने बहुमत जनादेश भएको नेकपा प्रतिपक्षमा पुगेको छ । यसप्रकारको परिवर्तित राजनीतिक माहौलमा बसेको प्रतिनिधिसभाको बैठक अनौठो खालको देखिएको छ । एउटै पार्टीका सांसद् कोही सत्तापक्ष र कोही प्रतिपक्षको लहरमा बसेको नेपालको राजनीतिक इतिहासमा नै पहिलो घटना भएको छ ।
नेकपा एमालेको आन्तरिक विवादका कारण पार्टी फुटको सँघार पुगेकै बेला बसेको प्रतिनिधिसभाको बैठकमा भने एमालेका सबै सांसद प्रतिपक्षमै बसेका छन् । एमालेमा किचलो खडा गर्ने र पार्टीलाई प्रतिपक्षमा पु-याउन प्रमुख भूमिका खेल्ने नेता माधवकुमार नेपाल भने बैठकमा अनुपस्थित हुनुहुन्छ । आजको बैठकमा कानूनी विभाजनको प्रक्रियामा रहेको जनता समाजवादी पार्टी सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएको छ ।
जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रतिनिधिसभाको प्रतिपक्षी सांसदको लहरमा बसेको छ । बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने सत्ता पक्षमा माओवादी अध्यक्ष प्रचण्डसँगैको लहरमा बसेको छ । जसपाका ३२ मध्ये १७ सांसद आजकै संसदीय दलको बैठकबाट उपेन्द्र पक्षमा लागेका छन् । सरकारलाई समर्थन गरेको राष्ट्रिय जनमोर्चाकी एकमात्र सांसद दुर्गा पौडेल पनि प्रतिपक्षी लहरमै बस्नुभएको छ ।