काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु भन्दा राजीनामा दिनु नै उत्तम ठान्दै नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम रावलले सांसद पदबाट राजीनामा दिनु भएको छ ।
संसद भवन नयाँ बानेश्वरमा पुगेर सभामुख अग्निप्रसाद सापकोटा समक्ष डा रावलले राजीनामा पत्र बुझाउनु भएको हो । राजीनामा नदिन एमालेकै नेताहरुले आग्रह गरेपनि उहाँ राजीनामा दिन रोकिनु भएन ।
डा. रावलले दिएको राजीनामा पत्रमा भनिएको छ – “झण्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौं राजनीतिक आरोह–अवरोह तथा घात–प्रतिघात ब्यहोरेको छु। र त्यसको सामना गरेको छु।
यो सबै मैले मातृभूमि नेपालको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान तथा नेपाली जनताको अधिकार र समृद्धिको लागि गरेको थिएँ। राजनीति र त्यसका सबै संयन्त्रहरु राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमान र जनताको सुख, समृद्धिप्रति समर्पित हुने विश्वास गरेको थिएँ।
तर राजनीतिक नेतृत्वबाट त्यस विपरितका काम हुँदै देश र जनतालाई अनेकौं पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने कृत्य हुँदै गए। फलस्वरुप आज नेपाल र नेपालीको शीर निहुरिँदै गयो।
अझ केही समय यता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा विधि र पद्धतिलाई आफ्नो कुत्सित र निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी, निरंकुश किसिमले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनै पनि सच्चा देशभक्त, लोकतन्त्र प्रेमी नेपालीको मन रुन्छ।
त्यस्ता विकृत तथा देश र जनताको हित विपरितका क्रियाकलापका विरुद्ध जुध्दै तिनलाई रोक्नका लागि जनप्रतिनिधि एवम् राजनीतिककर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरे।
तर पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहम् प्रतिशोधी र षडयन्त्रकारी चरित्र देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ।
यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयस्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु। धन्यवाद।”