काठमाडौं । नेकपा एमालेका सचिव तथा माधव नेपाल समूहका नेता भीम आचार्यले एमालेलाई विभाजित गर्ने कुत्सित षड्यन्त्रअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले हतारहतार विश्वासको मत लिने खोजेको बताउनुभएको छ । उहाँले दशबुँदे सहमति गरेर हामी पार्टी एकजुट बनाउन लागेका बेला र हामीले मत दिँदैनौँ भनेका बेला विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षड्यन्त्रबाहेक अरु केही नभएको धारणा राख्नुभयो । उहाँले एमाले फुटाउने नियतले हतारहतार प्रधानमन्त्रीले आजै संसदमा विश्वासको मत लिन खोजेको बताउनुभएको छ ।
माधव नेपाल निवासमा आन्तरिक छलफलपछि पत्रकारसँग कुरा गर्दै आचार्यले अरु एक महिना समय हुँदाहुँदै र अन्य विकल्प रहेकै बेला आजै विश्वासको मत लिन खोज्नु एमाले फुटाउने षडयन्त्र भएको जिकिर गर्नुभयो ।
सचिव आचार्यले देउवालाई विश्वासको मत दिने बारेमा माधव नेपाल समूहमा कुनै छलफल नभएको र पार्टीले पनि निर्णय नगरेको भन्दै केही व्यक्तिले मनलागी गरिरहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘विश्वासको मत दिनेबारे हाम्रो टिममा छलफल भएको छैन, पार्टीले निर्णय पनि गरेको छैन । मनलाग्दी ढंगले व्यक्तिगतरूपमा कसैले गर्छन् भने त्यो व्यक्तिगत हुन्छ, समूहको कुरा हुँदैन ।’