काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । विश्वासको मतसँगै सरकारमा समेत नेपाल पक्ष सहभागी हुने जनाइएको छ ।
यता एमालेमै रहँदासम्म सरकारमा सहभागी हुन कानूनी र नैतिक रुपमा नमिल्ने भएकाले प्रधानमन्त्री देउवाले पार्टी फुटाउन माधव पक्षलाई सहज हुने गरी अध्यादेश ल्याउने तयारी गरेको देउवा निकट स्रोतले उल्लेख गरेको छ ।
गठबन्धनका शीर्ष नेताबीचको छलफलमा नेपाल पक्षले आफ्नो पक्षलाई सातवटा मन्त्रालय दिनुपर्ने अडान राखेको छ । एमाले अध्यक्ष केपी ओलीसँग सहमतिको नाटक गर्दै नानाथरीको बार्गेनिङ गरिरहेको माधव पक्षले देउवा र प्रचण्डसँग मन्त्रालयको भागबण्डा गरिरहेको बुझिएको छ ।
त्यसैगरी एमाले उपाध्यक्ष बामदेव गौतमले पनि उपप्रधानमन्त्रीसहित राम्रै मन्त्रालयको लबिङ गरिरहेको चर्चा संचारमाध्यममा चलेको छ ।
गौतमसँगै बेदुराम भुसाल, विरोध खतिवडा, यज्ञराज सुनुवार, मेटमणी चौधरी, रामकुमारी झाँक्रीलगायतका नेताहरु मन्त्रीका रुपमा देउवाको सहकारमा सहभागी हुने लगभग पक्का जस्तै भएको छ ।
यता नेकपा एमालेको स्थायी कमिटीको बैठकबाट पनि सहमतिको प्रयास भइरहेको छ । बिहान ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक आयोजना गरिएको बैठकमा माधव नेपाल पक्षका नेताहरुलाई समेत सहभागी गराउने प्रयास जारी राखेको छ । शनिरबा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका नेताहरुले नेता माधव नेपाललाई भेटेर सहमतिका लागि प्रयास गर्ने बताएका छन् । नेपाललाई भेटेर १० बुँदेको कार्यान्यवनमा इमान्दार भइदिन, विपक्षीहरुसँगको भेटघाट कम गर्न, पार्टीका नेताहरुसँगको भेटघाट बढाउन र बैठकमा सहभागिता जनाउन आग्रह गरिने एक सदस्यले जानकारी दिनुभयो ।
एमालेको आजको बैठकले समसामयिक राजनीतिक परिस्थितिको विष्लेषणका साथै भोलिदेखि हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने भनिए पनि माधव पक्ष सहमति गर्ने पक्षमा नरहेको स्रोतको दाबी छ ।
यता प्रधानमन्त्री देउवाले भने एमालेभित्रको विवाद कायम रहेकै बेला हतारहतार आजै विश्वासको मत लिने तयारी गर्नुभएको छ । ढिला गर्दा एमाले विवाद मिल्न सक्ने र त्यसपछि विश्वासको मत प्राप्त नहुने अवस्था आउनसक्ने भएकाले आजै विश्वासको मत लिन लागेको स्रोतको दाबी छ ।