काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकबाटै विश्वासको मत लिनुहुने भएको छ । संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज बस्ने प्रतिनिधिसभाको बैठकबाटै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रधानमन्त्री देउवाले आज अपराह्न ४:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो । सर्वोच्च अदालतले गत २८ असारमा प्रतिनिधिसभा पुनःस्थापित गरेपछि प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ ।
यसैबीच, प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।
कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सभामुखमार्फत विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।