काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
उहाँले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारी गर्नका लागि बैठक आयोजना गरिएको बताउनुभयो । त्यसैगरी यही साउन ४ गते १४औँ केन्द्रीय कमिटी बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११:०० बजे बोलाइएको छ । उहाँका अनुसार पार्टी संरचना २०७५ जेठ २ गतेअगाडि फर्काउँदै आजको बैठकमा नेपाल पक्षका नेतालाई समेत बोलाइएको छ ।
एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ । शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । शुक्रबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिता रहेको थिएन । सो बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो ।
एमालेले आन्तरिक विवाद मिलाउन बनाएको विघटित कार्यदलमा एमाले अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनुभएको थियो भने नेपाल पक्षबाट भिम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको थियो । तर अहिले सो कार्यदल भंग भइसकेको छ ।