काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले माधव नेपाललाई संकेत गर्दै पार्टीबाट फुटेकाहरुको हबिगत कहिल्यै राम्रो नभएको बताउनुभएको छ । नेता बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै सो कुरा बताउनुभएको हो ।
उहाँले नेता नेपाललाई विगतबाट सिक्न आग्रह गर्दै फुटेर जानेको कहिल्यै राम्रो नभएको धारणा राख्नुभयो । चोइटिएका माओवादीहरु मिल्ने तरखरमा रहेको भन्दै उहाँले माधव नेपाललाई एमाले एकता कार्यदलले दिएको १० बुँदे सम्झौतासमेत पार्टीले अनुमोदन गरेकाले मिल्न सुझाव दिनुभयो ।
नेपाल पार्टीमा नफर्किए छाडेर अघि बढ्नुपर्ने बास्कोटाको बुझाइ छ । उहाँले भन्नुभयो, ‘दशबुँदे अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।’ उहाँले विगतमा फुटेको कांग्रेस, राप्रपा पनि मिलेको उदाहरण रहेको बताउनुभयो ।
उहाँले फेसबुकमा भन्नुभएको छ- ‘फैसलाले एमाले सक्किने भए ०५२ मै सकिन्थ्यो । यो राजनीति हो । कोही चोइटिएर पनि सकिँदैन । देउवाले कांग्रेस फुटाए, पार्टी चलेन, मूल पार्टीमै फर्किए । वामदेवको त्यही कथा दोहोरिएकै हो, वैद्य करिब-करिब उस्तै भो । राप्रपामा पनि पटक–पटक सोही कुरा भएकै छ। दशबुँदे अनुमोदन हुँदा पनि कोही आउँदैनन् भने नआउन्।’