काठमाडौँ । नेकपा एमालेका दोस्रो तहका नेताहरु पार्टीमा देखिएको विवाद समाधानका लागि सक्रिय हुनुभएको छ । विवाद समाधान गर्न उहाँहरु आज पनि सामूहिक रुपमा जुट्नुभएको छ ।
सोही क्रममा एमाले एकताका लागि बनाइएको तर विघटित कार्यदलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । एमाले संसदीय दलको कार्यालयमा एमालेको दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ । नेताहरुबीच पार्टी र संसदीय दलको बैठक माधव नेपाल पक्षसहित बस्ने उपायका बारेमा छलफल भइरहेको जनाइएको छ ।
नेकपा एमालेको स्थायी कमिटी शुक्रबार बसेको बैठकले विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेसँगै कार्यदल विघटन गरेको थियो ।
नेपालपक्षीय नेताहरुले शुक्रबारको बैठकमा कार्यदलका माधव नेपालसहितको बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीसमक्ष माग गर्नुभएको थियो ।
एमालेले आन्तरिक विवाद मिलाउन बनाएको विघटित कार्यदलमा एमाले अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनुभएको छ भने नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त हुनुहुन्छ ।