काठमाडौं । नेकपा एमालेले जनादेशलाई पूर्ण इन्कार गरेर सर्वोच्च अदालतले गरेको निर्णयविरुद्ध देशैभर भण्डाफोर अभियान संचालन गर्ने भएको छ ।
संसद भवन बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाले निर्दलीयता लाद्न खोजेको भन्दै देशैभर
अभियानका साथ जाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनु भएको छ ।
संसद विघटन बेठिक हो भनेर पुनःस्थापना गरेको भए त्यो मान्न सकिन्थ्यो भन्दै भट्टराईले अदालतले प्रधानमन्त्री तोक्ने दुनियाँमा कहीँ पनि नभएको कुरा नेपालमा भएको बताउनु भएको छ ।
वैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक भट्टराईले एउटा दलबाट निर्वाचित सांसदले दलको निर्णय विना अर्को दलमा हस्ताक्षर गर्ने, अर्को दलको नेतालाई समर्थन गर्न पाउनुलाई नैतिकता ठहराउने काम संसदीय व्यवस्थाको विरोधमा रहेको बताउनु भएको छ । त्यसैले संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने संसदीय दलले निष्कर्ष निकालेको प्रमुख सचेतक भट्टराईले बताउनु भएको छ ।