काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत पनि नदिने निर्णय गरेको छ । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको स्थायी कमिटीको बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले अलोकतान्त्रिक र अश्वस्थ विधिबाट सरकार गठन भएको भन्दै समर्थन नगर्ने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो, ‘अलोकतान्त्रिक र अश्वस्त विधिबाट बनेको सरकार भएकाले पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने प्रष्ट पार्दै पार्टीका सबै प्रतिनिधिसभा सदस्यहरुलाई यस निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको छ ।’
सो बैठकले कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । साथै बैठकले कार्यदल भंग गर्ने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । उहाँले पार्टीले प्रतिपक्षमा उभिने निर्णय गरेको र कोही साथीहरु सरकारको पक्षमा उभिनुहुन्छ भने सर्वोच्च अदालतले त्यो बाटो समेत खुला गरिदिएकाले जान सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीले सबै प्रतिनधिसिभा सदस्यलाई विश्वासको मत नदिन निर्देशन गरेको छ तर कोही साथीहरु उता जानुभयो भने त्यसबारे व्यक्तिगत निर्णय हुनेछ ।’