काठमाडौं । नेपाली कांग्रेसले बोलाएको पदाधिकारी बैठक स्थगित भएको छ । पार्टीको महाधिवेशन र मन्त्रिमण्डलका विषयमा छलफल गर्न बोलाइएको पदाधिकारीको बैठक स्थगित गरिएपछि रामचन्द्र पक्ष देउवाप्रति आक्रोशित भएको हो ।
आज बोलाइएको बैठक एकपक्षीय रुपमा स्थगित गरेपछि रामचन्द्र पौडेल पक्षले देउवाको नियतमाथि शंका गर्न थालेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे मन्त्रिमण्डल र महाधिवेशनको विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाउनुभएको थियो । कांग्रेस महाधिवेशनको लागि आजसम्म क्रियाशील सदस्यताको टुंगो लाग्नुपर्ने थियो तर छानविन समितिले काम नसकेकोले त्यसबारेमा कसरी अगाडि बढ्ने भन्ने विषयमा आज छलफल गर्ने एजेण्डा थियो ।
यसैगरी कांग्रेसको तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुका बारेमा पनि आज छलफल गर्ने कार्यक्रम रहेको थियो । पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक एकतर्फी ढंगले स्थगित गरेर छलफल नगरी आफ्ना मान्छेलाई मात्र मन्त्रिमण्डलमा लैजान खोजेको भन्दै कडा रुपमा आलोचना गरेको छ ।