काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेमा माधवकुमार नेपाललाई अब फर्कन नदिइने बताउनुभएको छ । उहाँले हजारौं कार्यकर्ताको माझमा माधव नेपाललाई अब पार्टीमा नफर्काइने, क्षमा नदिइने, आत्मालोचना गरे पनि माफी नदिइने घोषणा गर्नुभयो ।
अध्यक्ष ओलीले अब माधव नेपालको एमालेमा च्याप्टर क्लोज भएको बताउनुभयो ।
अध्यक्ष ओलीले घरको बार्दलीबाट कार्यकर्तालाई सम्बोधन गर्नुभएको हो । सम्बोधनका क्रममा उहाँले गल्ती गर्नेहरु फर्कन चाहन्छन् भने काम र जिम्मेवारी दिने बताउनुभयो । कार्यकर्ता माझबाट माधवलाई फर्काउन पाइँदैन भन्दै नारा लागेको थियो । त्यसपछि ओलीले माधव जस्ता गद्दारलाई नफर्काइने घोषणा गर्नुभएको थियो । उहाँले अहिलेको परिस्थिति आउनुमा माधव नेपाल सम्पूर्ण रुपमा जिम्मेवार रहेको बताउनुभयो ।
बालुवाटारबाट बालकोटसम्म गएको विशाल जुलुसमा माधव नेपालको विरुद्धमा नारा लागेको थियो । अध्यक्ष ओलीले माधवविरुद्ध नारा नलगाउन बारम्बार खबर पठाउनुभएको थियो । एमाले नेता महेश बस्नेतले कार्यकर्तालाई माधवविरुद्ध नारा नलगाउन बारम्बार निर्देशन दिनुभए पनि आक्रोशित कार्यकर्ता तथा सर्वसाधारणले माधव नेपाल गद्दार हो भन्दै नारा लगाएका थिए ।
अध्यक्ष ओली निवासमा पुग्नुभएपछि पनि कार्यकर्ता पंक्तिले माधवप्रति आक्रोश व्यक्त गरिरहेका थिए ।