काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । आजको बैठकमा पार्टीभित्रको आन्तरिक विवाद तथा कार्यदलले गरेको १० बुँदे सहमतिका बारेमा समीक्षा हुने भएको छ ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज पार्टी कार्यालय थापाथलीमा स्थायी कमिटी बैठक बस्ने तयारी भएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको सहयोगमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएपछि सो विषयमा पार्टीभित्र समीक्षा हुने नेता उहाँले बताउनुभयो ।
कार्यदलले आन्तरिक विवाद समाधान गर्नेगरी १० बुँदे सहमति गरिसकेकाले बैठकबाट सो सहमति अनुमोदन हुने पनि उहाँले बताउनुभयो । कार्यदलका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई सहमतिको दस्तावेज हस्तान्तरण गरिसक्नुभएको छ । आज बस्ने बैठकमा पार्टी एकताको सन्देश दिन पनि सहमतिको दस्तावेज अनुमोदन हुने नेता तामाङले बताउनुभयो ।
स्थायी कमिटी बैठक मंगलबार १ बजेका लागि तय गरिएको भए पनि प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने समय २:०० बजे तय भएपछि स्थायी कमिटी बैठक स्थगित भएको थियो । कार्यदलले सहमति गरेको विषय स्थायी कमिटीमा छलफल गरी अनुमोदन गर्ने र थप अनुमोदनका लागि केन्द्रीय कमिटी बैठकमा लैजाने तयारी एमालेले गरेको छ ।