काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएको सरकार ढालेर अदालतले नयाँ सरकार घोषणा गर्नु देशकै लागि बिडम्बना भएको बताउनुभएको छ । देशवासीका नाममा आज सम्बोधन गर्नुहुँदै उहाँले विश्वकै इतिहासमा पहिलो पटक सर्वोच्च अदालतबाट प्रधानमन्त्री तोकिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मलाई सरकारबाट जनताले हटाएको हैन, फेरि पनि म भन्छु जनतामा जाने दिन आओस् यो कुराको फैसला जनताले त्यतिबेला दिनेछन् । आज म परमादेशबाट सरकारबाट हटेको छु ।’
उहाँले भन्नुभयो, ‘मेरो अटल विश्वास जनतामाथि छ । यो नै अन्तिम होइन । सरकारबाट बाहिरिनु परेकामा मलाई रत्तिभर चिन्ता छैन, मैले देश र जनताको हित र सेवालाई ध्यानमा राखेर सम्पूर्ण इमान्दारी तथा विकासलाई नयाँ सोचसहित असाधारणरुपमा अगाडि बढाएँ ।,’
‘प्रतिकूल अवस्थामा पनि महामारी नियन्त्रणमा प्रभावकारीरुपमा काम गर्न सफल भएका छौँ । मलाई प्रचार गर्नु छैन, देश र जनताका लागि काम गर्नु छ । म जहाँ रहेर पनि त्यही भूमिका निर्वाह गर्नेछु,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले एउटै दलका नेता सत्ता र प्रतिपक्षमा बस्ने परिपार्टी कहीँ नभएको बताउनुभएको छ । उहाँले माधव नेपालप्रति लक्षित गर्दै पार्टीको चुनाव चिन्ह प्रयोग गरेर चुनाव जितेका सांसदहरूले सरकार बनाउन आफू खुसी निर्णय गर्न पाउँछन् भन्ने सर्वोच्चको व्याख्याले दलीय व्यवस्थामा नै चुनौती थपेको बताउनुभयो ।
प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन गर्दै ओलीले सर्वोच्चको फैसलाले दलिय व्यवस्था बलियो भयो कि कमजोर भन्ने प्रश्न उठाउनुभएको छ । ‘खेल खेलाडीले खेल्ने हो । तर, रेफ्रीले खास पक्षलाई जिताउने आकांक्षा राख्दा खेलको नियम बिग्रन्छ, अहिलेका विषय राजनीतिक मुद्धा हुन् तर न्यायलय धेरै तलसम्म प्रवेश गरेको छ ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।