काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सुरुमै विवाद देखिएको छ । प्रधानमन्त्री पदको सपथ नलिँदै देउवाले मन्त्रिमण्डल बनाउँदा माओवादी केन्द्रलाई मुख्य मन्त्रालय नदिने बताइसक्नुभएको छ ।
सरकारमा महत्वपूर्ण मन्त्रालयहरु गृह, अर्थ, परराष्ट्र, भौतिक निर्माण कांग्रेस आफैंले राख्ने भएको हो । सोमबार राति र मंगलबार बिहान देउवा निवासमा बसेको कांग्रेसका केही नेताहरुको बैठकले माओवादीलाई तत्काल मन्त्रिमण्डलमा नल्याउने, ल्याउनै पर्ने भए पनि मुख्यमुख्य मन्त्रालय कुनै पनि नदिने निर्णय गरेको छ ।
कांग्रेसका एक नेताले बताउनुभयो ‘विश्वासको मत नलिई माओवादीलाई सरकारमा नल्याउने भएका छौं ।’
देउवाले विश्वासको मत नपाएको अवस्थामा प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने हुन्छ, विघटनपछि मन्त्रिमण्डलमा सदस्य थप्न नपाइने गरी सर्वोच्च अदालतले फैसला गरेको छ । उता माओवादी भने देउवाले विश्वासको मत लिनुअगाडि नै मुख्यमुख्य मन्त्रालय हात पार्ने दाउमा रहेको छ । त्यसैले माओवादीले पनि देउवालाई घुर्की लगाएरै भए पनि महत्वपूर्ण मन्त्रालय आफूले लिने योजना बनाउन थालेको छ । त्यसैको सिलसिलाका रुपमा माओवादी नेताहरुले तत्काल मन्त्रिमण्डलमा सहभागी नहुने भन्दै देउवालाई महत्वपूर्ण मन्त्रालय हात पार्न घुर्की देखाउन थालेका छन् ।
गठबन्धनमा खटपट देखिएपछि देउवाले आज सपथपछि सानो मन्त्रिमण्डल बनाउने बताइएको छ । त्यसैगरी मन्त्रिमण्डलमा कांग्रेसका अन्य गुटहरुलाई पनि जिल्ल पार्ने योजना देउवा गुटले बनाएको बताइएको छ ।