काठमाडौँ । चीनबाट आएको कोरोना भाइरसविरुद्धको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोपको पहिलो मात्रा सरकारले आजदेखि लगाउने भएको छ । सो खोप ७७ वटै जिल्लामा लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले जानकारी दिनुभयो ।
भेरोसेल र जोन्सन एन्ड जोन्सनको खोपको लक्षित समूह विभागले छुट्याएको महानिर्देशक सिंहले बताउनुभयो । उहाँका अनुसार भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहका कोभिडविरुद्ध सबै नागरिकलाई लगाइनेछ । यस्तै भेरोसेल विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई पनि लगाइने भएको छ । नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी व्यक्तिहरु, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल लगाइने जानकारी उहाँले दिनुभयो ।
त्यसैगरी अमेरिकाबाट आएको १५ लाख जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई लगाइने भएको छ । जोन्सन खोपको मात्रा एकपटक मात्र लगाइने छ ।
स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सरसफाइकर्मी र यसअघिको अभियानहरुमा खोप लगाउन छुट भएका सबै जनालाई खोप लगाउने भएको उहाँले बताउनुभयो । खोप लगाउनका लागि नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र र सो नभएमा पालिका, वडाबाट उमेर प्रमाणित कागजात लिएर जानुपर्नेछ ।
त्यसैगरी सार्वजनिक यातायातका चालक तथा सहचालकहरुको हकमा आधिकारिक परिचयपत्र र सवारी साधनसहित व्यवसायी सङ्घबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप लगाइने बताइएको छ । विश्वविद्यालय र विद्यालयका शिक्षक एवं कर्मचारीहरुको हकमा सम्बन्धित संस्थाको आधिकारिक परिचयपत्रका आधारमा, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकको हकमा पासपोर्ट र भिसाका आधारमा तथा पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिकको हकमा नेपाल सरकारले जारी गरेको प्रमाणपत्रका आधारमा खोप प्रदान गरिने मन्त्रालयले जानकारी दिएको छ ।




















