काठमाडौं ।
‘घाँसी’
भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो ।
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो ।
मेरा इनार न त सत्तल पाटी कै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन् ।
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो मकन बस्नु न राखि किर्ति ।
माथि उल्लिखित कविताका रचनाकार तथा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औं जन्मजयन्ती आज देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
रामायणलाई नेपाली भाषामा लेखेका उहाँले पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका आदिकवि भानुभक्त आचार्यलाई घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले रामायणलाई नेपाली भाषामा अनुवाद गर्न प्रेरित गरेको मानिन्छ । ‘बधुशिक्षा’ ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ जस्ता रचनाहरुको सिर्जना उहाँले गर्नुभएको छ । राष्ट्रिय पहिचान, एकता र नेपाली सांस्कृतिक चेतना जगाउन भानुभक्तको योगदान महत्वपूर्ण रहेको छ ।
भानुभक्तका रचनाहरू नेपाली भाषामा अग्रणी रूपमा रहेका छन् । उहाँले आफ्नो वैयक्तिक प्रतिभाका कारणले नै रामायण लेख्नुभएको हो । ‘अध्यात्म रामायण’ अनुवाद भएर पनि यस कृतिलाई भानुभक्तले मौलिक रूपमा प्रस्तुत गर्नुभएको छ । भानुभक्तअघिका नेपाली कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न नसकेका बेला उहाँले नेपाली साहित्यलाई “रामायण” जस्तो अमूल्य कृति दिएर अतुलनीय योगदान दिनुभएको छ र यो नै नेपाली भाषासाहित्यको पहिलो महाकाव्य पनि मानिएको छ । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ ।




















