काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका नेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाप्रति आफूहरुको सहमति नभएको बताउनुभएको छ । तर सो फैसला मानेर जानुको विकल्प नरहेको उहाँले बताउनुभयो ।
नेता नेम्वाङले गलत योजना र नियतका साथ फैसला आएको टिप्पणी गर्नुभयो । गम्भीर परिस्थितिमा आएको फैसलालाई आफूले मसिनो ढंगले केलाएर हेर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो ‘संविधान, संविधानका अभ्यास, संसारभर प्रचलित संसदीय प्रणालीका मूल्य र मान्यतामा धेरै प्रश्नहरु उठ्नेगरी फैसला आउनु गलत छ, हामी सहमत छैनौं।’
त्यति हुँदाहुँदै पनि आफूहरुले विधिको शासनमा विश्वास गर्ने भएकाले यसलाई मानेर जानुको विकल्प नरहेको उहाँको भनाइ थियो । सर्वोच्चको फैसलाको असहमति जनाउँदै संविधानबमोजिम आफूहरु अगाडि बढ्ने बताउनुभयो ।
आज सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाउँदै अदालतले २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।