काठमाडौँ । सर्वोच्च अदालतले संसद पुनस्स्थापनाको फैसला सुनाएपछि सत्तारुढ दल एमालेका कार्यकर्ता सडकमा उत्रेका छन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन सुरु भएको छ ।
सर्वोच्चले संसद विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले आक्रोशित भएको हो । युवा नेता महेश बस्नेतले फेसबुकमार्फत माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गर्नुभएको थियो ।
युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ माइतीघरमा प्रर्दशन गरिरहेका छन् ।
सो प्रदर्शनलाई सम्बोधन गर्दै एमाले नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई राजनीति नगर्न चेतावनी दिनुभएको छ । सर्वोच्च अदालतको फैसलाको विरोधमा काठमाडौँको माइतीघर मण्डला नेकपा एमाले ओली निकट युवा संघले गरेको विरोध कार्यक्रममा बोल्दै उहाँले प्रधानन्यायाधीश राणा पूर्वप्रधानन्याधीश खिलराज रेग्मीको नयाँ संस्करण बन्न लागेको टिप्पणी गर्नुभयो ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशको विरोधमा नेता बस्नेतले यस्तो चेतावनी दिनुभएको हो । कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश दिएर प्रधानन्यायाधीश राणाले राजनीति गरेको उहाँको भनाइ छ ।
उहाँले राजनीति गर्ने भए राजनीतिक पार्टीमा सामेल हुन राणालाई चुनौती दिनुभएको छ । राजनीति गर्ने मन भए नेपाली कांग्रेसमा सामेल हुन उहाँले चेतावनी दिनुभयो ।