काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ गर्न आज संवैधानिक इजलास आज बस्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको इजलासमा पक्ष विपक्षको बहस, एमिकस क्युरीको रायलगायतका प्रक्रिया असार २१ गते नै सकिएपछि प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ गर्न संवैधानिक इजलास बस्न लागेको हो । सुनुवाइको सबै प्रक्रिया सकिएकाले आज फैसला आउन सक्ने सर्वोच्च अदालत स्रोतले बताएको छ ।
प्रतिनिधिसभाका १४६ सांसदहरुले प्रतिनिधिसभा विघटन बदर गर्न र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।
गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो । यो कदम असंवैधानिक भएको जिकिर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । ती रिटहरुमाथि असार ९ गतेदेखि निरन्तर बहस हुँदै आएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारेका विपक्षी गठबन्धनका १४६ सांसदको तर्फबाट दायर रिटमा देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्न मागसमेत गरिएको छ ।
सो मुद्दामा सुनुवाइ गर्नका लागि प्रधानन्यायाधीश जबराको नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन गरिएको छ ।