काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको आजको बैठक सम्पन्न भएको छ । निर्धारित समयभन्दा ढिलो गरी करिब पाँच बज्नै लाग्दा शुरु भएको सो बैठकले भोलि औपचारिक रुपमा पार्टीभित्र समझदारी कायम गर्दै दस्तावेजलाई सार्वजनिक गर्ने बताइएको छ ।
आजको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै कार्यदलका सदस्य गोकर्ण विष्टले समस्या लगभग समाधानको अबस्थामा पुगेको र अब त्यसलाई भोलि औपचारिता दिन मात्र बाँकी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, कार्यदलभित्र लगभग सबै कुरा मिलेको छ, यसलाई आज औपचारिकता दिन नसके पनि भोलि तपाइँहरुले सुखद समाचार सुन्न पाउनुहुनेछ ।
यसअघि नेता माधवकुमार नेपाल पक्षका कार्यदलका सदस्यहरु परामर्शका लागि नेपाल निवास कोटेश्वर जानुभएपछि बैठक ढिलो गरी शुरु भएको थियो ।
एमालेले आन्तरिक विवाद मिलाउन बनाएको कार्यदलमा एमाले अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनुभएको छ भने नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको छ ।