काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको आजको बैठक शुरु भएको छ । बैठक निर्धारित समयभन्दा ढिलो गरी शुरु भएको हो । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदलका सदस्यहरु परामर्शका लागि नेपाल निवास कोटेश्वर जानुभएपछि बैठक शुरु हुन ढिलो भएको हो ।
सिंहदरवारस्थित अर्थमन्त्रालयमा जारी सो बैठकमा विषयकेन्द्रित भएर छलफल शुरु भएको कार्यदलका सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभएको छ । कोटेश्वरबाट कार्यदलका सदस्यहरु फर्केर आउनुभएपछि बैठक शुरु भएको उहाँले जानकारी दिनुभयो ।
आजको बैठकबाट कार्यदलका सदस्यले विवादित विषयलाई सहमति गर्ने तयारी गर्नुभएको छ । कार्यदलको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदलका सदस्यहरुले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा पेश गर्नुभएको हस्ताक्षर फिर्ताको प्रस्ताव राख्नु भएपछि नेपाल पक्षका सदस्यहरु परामर्श गर्न कोटेश्वर जानुभएको थियो ।
कार्यदलले विवादित विषयमा सहमति गरेपछि अध्यक्ष ओली तथा वरिष्ठ नेता नेपालबीच थप छलफल भई अन्तिम टुङ्गो लगाउने तयारी कार्यदलले गरेको छ । कार्यदल स्तरमा सहमति बनेपछि प्रमुख दुई नेताहरु अध्यक्ष ओली र नेता नेपालसँगको परामर्शमा आज रातिसम्म सहमतिको दस्तावेज सार्वजनिक गर्ने तयारी कार्यदलका सदस्यहरुले गर्नुभएको छ ।
एमालेले आन्तरिक विवाद मिलाउन बनाएको कार्यदलमा एमाले अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनुभएको छ भने नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको छ ।