काठमाडौं । नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले शुक्रबार ७ घन्टा लामो बैठकपछि तयार गरेको सहमतिको अन्तिम मस्यौदा भाषिक परिमार्जनसहित आज सार्वजनिक गर्ने तयारी गरिएकै बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ । नेता नेपालको निवास कोटेश्वरमा पुगेर उहाँले नेपालसँग करिब १ घन्टा छलफल गर्नुभएको हो ।
पार्टी एकता अन्तिम चरणमा पुगेकै बेला प्रचण्डले नेपाललाई भेट्न हतार गर्नुले उहाँको एमालेलाई एक हुन नदिने दुष्प्रयास त कतै होइन भन्ने आशंका एमालेवृत्तमा उब्जिएको छ । यो भेटले एमाले एकतामा भाँजो हाल्ने प्रयास त हुने होइन भन्ने कौतुहलता पनि उत्पन्न भएको छ ।
कांग्रेस, माओवादी, जसपा र जनमोर्चाको गठवन्धनलाई साथ दिँदै आउनुभएका नेता नेपालले केही दिनअघि विपक्षी गठवन्धनलाई धोका नदिने बताउनुभएको थियो । उहाँले आफू राजनीतिबाट सन्यास लिन तयार, आत्महत्या गर्न तयार तर विपक्षी गठवन्धनलाई धोका दिन्न भन्दै आउनुभएको छ । पार्टीको एकताका लागि सहमतिको दस्तावेज सार्वजनिक गर्ने तयारी गरेकै बेला नेता नेपाल र प्रचण्डबीचको भेटवार्ताले एकता भंग हुने त हैन भन्ने आशंका एमालेका नेता तथा कार्यकर्तामा उब्जिएको छ ।