काठमाडौँ । पूर्वमाओवादी नेताहरुले नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजको निर्णय अबिलम्ब गर्न निर्वाचन आयोगलाई आग्रह गर्नुभएको छ । टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साहलगायतका नेताहरु निर्वाचन आयोगको कार्यालय बहादुर भवन पुगेर प्रमुख आयुक्त दिनेश थपलियालगायतलाई भेटी सो आग्रह गर्नुभएको हो ।
भेटमा नेताहरुले माओवादी केन्द्रको दल दर्ता खारेजका लागि आफूहरुले बुधबार दिएको निवेदनमा के भइरहेको छ भन्ने चासो व्यक्त गर्नुभयो । पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रले २०५९ देखि पार्टीको महाधिवेशन नगरेको, पार्टी एकताका नाममा आयोगलाई झुक्याएकोलगायतका विषय उल्लेख गर्दै दल दर्ता खारेज गर्न आयोगमा निवेदन दिनुभएको थियो ।
‘उहाँहरुले कानूनी व्यवस्था यो–यो छ भन्नुभयो र सबै दलहरुको अवस्था त्यस्तै रहेको बताउनुभयो’ नेता साहले भन्नुभयो, ‘अरुको कुरा होइन, हामीले माओवादी केन्द्रको विषयमा प्रश्न उठाएका हौं । यसबारे छिटो निर्णय होस् भनेका छौं ।’ आयोगका अधिकारीहरुले छिट्टै निर्णय दिने आश्वासन दिएको नेता साहले जानकारी दिनुभयो ।