काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको आन्तरिक विवाद मिलाउने प्रयासमा कार्यदलको बैठक आज पनि बस्ने भएको छ । आजको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने जनाइएको छ ।
आजको बैठकले सहमतिसहित निष्कर्ष दिने विश्वास वार्ता समितिका सदस्य सुवास नेम्वाङले व्यक्त गर्नुभयो ।
नेकपा एमालेभित्रको आन्तरिक विवाद मिलाउन कार्यदलका सदस्यहरु विगत केही दिनयता सक्रिय हुनुहुन्छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको भोलिपल्ट बिहीबार विहान बसेको बैठकपछि कार्यदलका सदस्यहरुले साँझसम्म सहमति हुने दाबी गर्नुभएको थियो ।
एमालेले आन्तरिक विवाद मिलाउन कार्यदलका दसजना सदस्यहरु रहेको कार्यदल गठन गरेको छ । कार्यदलमा एमाले अध्यक्ष ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनुभएको छ भने नेपाल पक्षबाट भिम रावल, घनश्यास भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनुभएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेको छ ।
अध्यक्ष ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने २३ निवर्तमान सांसद्लाई हस्ताक्षर फिर्ता लिन आग्रह गर्नुभएको छ ।