काठमाडौँ । नेकपा एमालेभित्रको विवाद समाधानका लागि एमाले कार्यदलको बैठक भोलि बिहान फेरि बस्ने गरी सम्पन्न भएको छ ।
आजको बैठकमा कार्यदलका सदस्य विष्णु पौडलबाहेक अन्य सबै नेताहरुको सहभागिता रहेको थियो । मन्त्रिपरिषद बैठक बसिरहेकाले पौडेल बैठकमा उपस्थित नभएपछि भोलि बिहान साढे ११ बजे बस्ने गरी आजको बैठक सकिएको हो ।
कार्यदलका सदस्य सुवास नेम्वाङले भोलि बस्ने बैठकले टुंगोमा पुर्याउने बताउनुभयो । ‘भोलि बस्ने बैठकले यसलाई टुंगोमा पुर्याउँछ भन्नेमा हामी आशावादी छौं’, उहाँले भन्नुभयो, ‘हामी विषयबस्तुलाई निष्कर्षमा पुर्याउने गरी छलफल गरिरहेका छौँ ।’
उहाँले भन्नुभयो, ‘तीन वर्षदेखि जुन तुष छ, त्यहाँबाट यो ठाउँसम्म ल्याइपुर्याएका छौं, यो ठूलो कुरा हो । भोलि बस्ने बैठकले टुंग्याउनेमा हामी आशावादी छौं।’
पार्टीभित्रको विवाद समाधान गर्ने कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त गरी १० जना सदस्य रहनुभएको छ ।