काठमाडौं । विगत केही समयदेखि पार्टीभित्र देखिएको विवाद समाधानका लागि नेकपा एमाले कार्यदलको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक बसिरहेको छ । यसअघि बिहान बसेको कार्यदल बैठक आन्तरिक तयारी गर्नुपर्ने भन्दै साँझ पुनः बस्नेगरी स्थगित भएको थियो ।
कार्यदल सदस्य तथा एमाले नेता सुवास नेम्वाङले आजै निष्कर्षमा पुग्नेगरी तयारी भएको बताउनुभयो ।
कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएपछि बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो ।
करिब २ महिनापछि भएको एमाले अध्यक्ष ओली र नेता नेपालबीचको छलफललाई कार्यदलका सदस्यले सकारात्मक रूपमा लिनुभएको छ ।
पार्टीभित्रको विवाद समाधान गर्ने कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त गरी १० जना सदस्य रहनुभएको छ ।