काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि बसेको कार्यदलको बैठक केहीबेर बसेर सकिएको छ । सो बैठक आजै साँझ सिंहदरबारस्थित अर्थ मन्त्रालयमा फेरि बस्ने गरी सकिएको हो ।
उक्त बैठकपछि कार्यदलका सदस्य सुवास नेम्वाङले पार्टीभित्र आन्तरिक तयारी गर्नको अहिले बैठक सकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विभिन्न आन्तरिक तयारी गर्नुपर्ने भएकोले बैठक केहीबेर सकिएको हो । आजै साँझ फेरि बैठक बस्नेछ ।’ उहाँले अगाडि थप्नुभयो ,‘सम्भवत आजै निष्कर्षमा पुग्नेगरी तयारी गरिएको छ ।’
कार्यदलमा भइरहेको छलफल सहमतिउन्मुख भएपछि बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको थियो । तर उक्त छलफलमा कुनै निष्कर्ष निस्किएको थिएन । करिब २ महिनापछि भएको ओली र नेपालबीचको छलफललाई कार्यदलका सदस्यले सकारात्मक रूपमा लिएका छन् ।
पार्टीभित्रको विवाद समाधान गर्ने कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त गरी १० जना सदस्य रहनुभएको छ ।