काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरू भएको छ । सिंहदरबारमा सुरु भएको सो बैठकले पार्टीभित्र देखिएको विवादलाई समाधान गर्ने बताइएको छ ।
सिंहदरबारस्थित अर्थमन्त्रालयमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरुबीच ठोस सहमतिमा पुग्ने गरी वार्ता सुरू भएको हो ।
बैठक शुरू हुनुअघि भीम रावल नेता नेपाललाई भेट्न उहाँकै निवास कोटेश्वर जानुभएको थियो । सो वार्तामा आफ्नो पक्षबाट प्रस्तुत गरिने रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।
रावल सिंहदरबार छिरेलगत्तै अहिले वार्ता सुरु भएको छ । त्यसअघि आज बिहान रावल र विष्णु पौडेलबीच सिंहदरबारमा भेटवार्ता भएको थियो । पौडेलसँगको भेटपछि रावल नेता नेपाललाई भेट्न कोटेश्वर जानुभएको थियो ।
बुधबार दिउँसो नेताहरूले विवाद समाधानउन्मुख भएको बताउँदै आजसम्ममा सहमति हुने धारणा व्यक्त गर्नुभएको थियो ।
सोही क्रममा हिजो राति अबेरसम्म अध्यक्ष ओली र नेता नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा बस्नुभएको थियो ।
पार्टीभित्रको विवाद समाधान गर्ने कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त गरी १० जना सदस्य रहनुभएको छ ।