काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) को कार्यदल बैठक आज पनि बस्ने भएको छ । यसअघिका बैठकमा छलफल हुन बाँकी रहेका विषयमा आजको बैठक केन्द्रित हुने कार्यदलका सदस्य भीम रावलले बताउनुभयो ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो साँझ ‘वान टु वान’ वार्ता भएको थियो । नेता रावलले भन्नुभयो, “उहाँहरूको कुराकानी सकारात्मक छ । सकारात्मक ढंगले उठेर हिँड्नुभएको छ । बाँकी कुरा कार्यदल बैठकमा हुन्छ ।”
बुधबार साँझ अध्यक्ष ओली र नेपालबीच मेरियट होटेलमा दोस्रो तहका नेताहरूसहित भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा पार्टी एकतालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको नेता रावलले जानकारी दिनुभयो ।
“दुई शीर्ष नेताबीच कुराकानी भयो । समग्रमा पार्टी एकतालाई कसरी अघि बढाउने, हामीले गर्दै आएका कुरालाई सकारात्मक परिणाममा कसरी पु-याउने भन्ने सिलसिलामा कुराकानी भएको पाएका छौं ।” नेता रावलले बताउनुभयो ।
पार्टीभित्रको विवाद समाधान गर्ने कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त गरी १० जना सदस्य रहनुभएको छ ।