काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) को आन्तरिक विवाद समाधान गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको वार्ता सम्पन्न भएको छ । नक्सालस्थित होटल मेरियटमा बुधबार साँझ भएको करिब डेढ घण्टा लामो वार्ता सकारात्मक भएकाले अर्को बैठकमा सहमति गर्ने गरी आजको बैठक सम्पन्न भएको बैठकमा सहभागी नेताहरुले बताउनुभयो ।
आजको बैठक अध्यक्ष ओली र नेता नेपालबीच विषयकेन्द्रित एक्लाएक्लै वार्ता भएको वार्तामा सहभागी नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभएको छ । एक्लाएक्लै वार्ता सकारात्मक भएको जानकारी प्राप्त भएकाले अर्को बैठकमा पुनः सहमतिको प्रयास जारी राख्ने कुरा भएको उहाँले बताउनुभयो । उहाँले वार्ता सकारात्मक भएको र भोलि कार्यदलको बैठक बस्ने र त्यसपछि दुई शीर्ष नेता बसेर विवाद टुंगो लगाउने दाबी गर्नुभयो ।
नेता भीमबहादुर रावलले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालसहित भएको वार्ता सकारात्मक भएको बताउनुभयो । लामो समयदेखि विभिन्न समस्यामाथि गम्भीर छलफल भइरहेकाले गहिराईमै पुगेर सहमतिको प्रयास भइरहेको उहाँले बताउनुभयो । वार्तालाई जारी राख्ने र अर्को बैठकमा पुनः छलफल गर्ने सहमति बनेको उहाँले बताउनुभयो । वार्तामा ओली पक्षका नेता ईश्वर पोखरेल र विष्णु पौडेल तथा नेपाल पक्षका भीम रावल र सुरेन्द्र पाण्डे पनि सहभागी हुनुहुन्थ्यो ।




















