काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उच्च स्रोतका अनुसार प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली साँझ सात बजे होटल मेरियट पुगेर नेता नेपालसँग भेटवार्ता गर्नुभएको हो ।
नेता नेपाल पुगेको केही बेरमा अध्यक्ष तथा प्रधानमन्त्री ओली पनि मेरियटमा पुग्नुभएको थियो । उहाँहरुबीच पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलले सहमतिका लागि तयार गरिएको खाकाका विषयमा छलफल भएको स्रोतले बताएको छ ।
यसअघि आजै बसेको कार्यदलको बैठकले पार्टी विवाद समाधानउन्मुख भएको र केही विषयमा छलफल गरेर अन्तिम रुप दिने निर्णय गरेको थियो । त्यसका लागि ओली र नेता नेपालबीच भेटवार्ता गर्ने नेताहरुले बताउनुभएको थियो ।
नेताद्वयको वार्तामा उपप्रधानमन्त्री विष्णु पौडेल र नेता सुरेन्द्र पाण्डे पनि सहभागी हुनुभएको छ । एमाले विवाद समाधान गर्ने प्रयासस्वरुप अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको स्रोतले बतायो ।




















