काठमाडौँ । नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले कानुन बनाउन नसक्ने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक कदम भएको बताउनुभएको छ । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने तर कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराउनुभयो ।
सांसद भट्टराईले राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘राष्ट्रियसभामा कस्मेटिक राजनीति नगरौँ मेरो यो अनुरोध छ ।’ वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उहाँले सरकारका कामकारबाही सही दिशामा रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको जिकिर गर्नुभयो ।
उहाँले के जनताको बीच जाने कुरा अलोकतान्त्रिक हो भन्दै प्रश्न गर्नुभयो । सरकार बनाइदिनुपर्यो भनेर अदालतमा मुद्दा हालिएको भन्दै उहाँले अदालतले सरकार बनाउन नसक्ने जिकिर गर्नुभयो ।




















