काठमाडौ । नेकपा एमाले कार्यदलको सिंहदबारमा बसेको आजको कार्यदलको बैठक सहमति नजिक पुगेको एमाले पार्टी प्रवक्ता एवम् कार्यदलका नेता प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ ।
एमाले पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित दश सदस्यीय कार्यदलको पार्टी एकताका सम्बन्धमा भोलि बिहीबारसम्म टुंगो लाग्ने पनि ज्ञवालीले बताउनुभएको छ । उहाँले भोलिसम्म टुंगोमा पु-याउन संवादमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘केही प्राविधिक समस्या नआए भोलिसम्ममा टुङ्गोमा पुग्छौं ।’
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु रहेको कार्यदलको बैठक लगातार तीन दिनदेखि बसिरहेको छ । सो कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त गरी १० जना सदस्यहरु रहनुभएको छ ।




















