काठमाडौं । सत्तारुढ दल नेकपा एमाले विवादभित्रको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । सो बैठक सिंहदरबारमा बिहान १०:३० बजेदेखि सुरु भएको कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभएको छ । पार्टी एकतामा केन्द्रित रहेर कार्यदलको बैठकमा छलफल हुने नेम्वाङले बताउनुभयो ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको संयुक्त वक्तव्य निकाल्ने प्रयासबारे सञ्चारमाध्यमहरुमा विभिन्न समाचार आए पनि कार्यदलका नेताहरुले यसबारे आधिकारिक कुनै जानकारी दिनुभएको छैन तर पनि असार २१ गते कार्यदल पुनः सक्रिय भएपछि पार्टीका नेता, कार्यकर्ताहरु पार्टी एक हुनेमा आशावादी देखिएका छन् ।
असार २२ गतेको कार्यदलको बैठकले पार्टीभित्रको विवाद समाधान गर्नमा विगतको भन्दा थप प्रगति भएको कार्यदलका नेताहरुको भनाइ छ ।
यसैगरी, छलफलका अनौपचारिक विषयहरु हिजोको कार्यदलको बैठकमा बुँदागत गरिएको नेताहरुले बताउनुभएको थियो ।
नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकी गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय रहेको थियो ।
सो कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त गरी १० जना सदस्यहरु रहनुभएको छ ।




















