काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले) को आन्तरिक विवाद समाधानका लागि गठित कार्यदल क्रियाशील रहेको छ । सोही क्रममा मंगलबार छलफल गरी सहमतिका आधार तय गरेको कार्यदलको बैठक आज फेरि बसेर सहमति खोजिँदै छ ।
सो कार्यदलका सदस्य एवं एमालेका सचिव गोकर्णराज विष्टले छलफल सकारात्मकरुपमा अघि बढेको बताउनुभयो ।
पार्टीका शीर्ष र दोस्रो तहका नेताबीच भएको अनौपचारिक छलफललाई व्यवस्थितरुपमा सहमतिमा परिणत गर्न कार्यदलको बैठक बस्न लागेको हो ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली महाधिवेशन आयोजक कमिटी विघटन गरेर २०७५ जेठ ३ गते अगाडिको साङ्गठनिक स्थितिका आधारमा सञ्चालन गर्न तयार भएपछि सहमतिको वातावरण बनेको हो ।
एमाले केन्द्रीय कमिटीको १३ औँ बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्ताव र सर्वोच्च अदालतमा रिट दायर गर्दा पार्टीका २३ निवर्तमान सांसदबाट गरिएको हस्ताक्षर फिर्ता गर्न सोमबार साँझ ५ बजेसम्म समय दिइएको थियो । त्यसै सन्दर्भलाई लिएर पार्टीलाई एक गराउन कार्यदलले सक्रियता देखाएको हो ।
नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सफल हुन नसकी गत जेठ ८ गते प्रतिनिधिसभा दोस्रो पटक विघटन भएपछि एमालेको कार्यदल निष्क्रिय रहेको थियो ।
सो कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली पक्षबाट नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल र विष्णुप्रसाद रिमाल तथा नेता माधवकुमार नेपाल पक्षबाट डा भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डे, गोकर्णराज विष्ट र रघुजी पन्त गरी १० जना सदस्यहरु रहनुभएको छ ।




















