काठमाडौँ । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी जिङपिङले आयोजना गरेको भर्चुअल बैठकमा सहभागी हुनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चिनियाँ राष्ट्रपति सी जिङपिङले आयोजना गरेको भर्चुअल बैठकमा प्रधानमन्त्री ओली सहभागी हुनुभएको हो । प्रधानमन्त्री ओलीसहित नेपाली राजनीतिक दलका नेताहरु चिनियाँ राष्ट्रपति सीले आयोजना गरेको भर्चुअल छलफलमा जोडिनुभएको छ ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वभर फैलिएको कोभिड–१९ महामारी, जलवायु परिवर्तन र आतंकवादजस्ता मानवताविरोधी मुद्दामा सबै मुलुक मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले जनताको आवाज सुनेर अघि बढ्न विश्व नेताहरुलाई आग्रह गर्नुभयो । विकास नै विश्वका विभिन्न मुलुकको अधिकार भएको उहाँको प्रष्ट धारणा थियो । उहाँले निश्पक्षता, प्रभावकारिता र तालमेलसहित विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
चीनले १५ औं जैविक विविधता सम्मेलन गर्न लागेको जानकारी दिँदै चिनियाँ राष्ट्रपति जिनपिङले सहभागिताका लागि सबै मुलुकलाई आह्वान समेत गर्नुभयो । भर्चुअल बैठकमा नेपालसहित १६० देशका सरकार प्रमुख तथा विशिष्ट महानुभावहरुको सहभागिता रहेको थियो ।