काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिलाउन बनेको कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । कार्यदलका सदस्यहरुका अनुसार वार्ता सकारात्मक छ । एमालेका नेता, कार्यकर्ता एकताप्रति उत्साहित छन् । उनीहरु अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालको संयुक्त विज्ञप्ति कहिले आउँला भनेर प्रतिक्षामा छन् ।
तर कार्यदलको वैठक सिंहदरवारमा बसिरहेका बेला नेता नेपाललाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नेपाको निवास कोटेश्वर पुगेका छन् । जनकपुरबाट फर्किएका प्रचण्ड विमानस्थलबाट सीधै नेपाल निवास पुगेका हुन् । उनले नेता नेपाललाई भेट्न हतार गर्नुले एमालेवृत्त सशंकित भएको छ । यो भेट एमाले एकता प्रयासको तगरो त हुने होइन भन्ने कौतुहलता पनि उत्पन्न भएको छ ।
कांग्रेस, माओवादी, जसपा र जनमोर्चाको गठवन्धनलाई साथ दिँदै आएका नेता नेपालले केही दिनअघि विपक्षी गठवन्धनलाई धोका नदिने बताएका थिए । उनले राजनीतिबाट सन्यास लिन तयार, आत्महत्या गर्न तयार तर विपक्षी गठवन्धनलाई धोका दिन्न भनेका थिए । जीवनको झण्डै ५० वर्ष एमालेमा विताएका नेता नेपाल पछिल्लो समय आफूले ठूलो योगदान गरेको र आफूलाई पनि नाम र सम्मान दिएको पार्टीलाई त्याग्न तयार हुनुमा ठुलै षडयन्त्र र ग्राण्डडिजाइन अनुसार गतिविधि भइरहेको आशंका सर्वत्र हुन थालेको छ ।