काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ ।
सिंहदरबारमा सुरु भएको दोस्रो दिनको बैठकमा विगतमा कार्यदल तहमा गरिएका छलफल र सहमतिहरुलाई कार्यान्वयन तहमा लैजाने र समाधान गर्न बाँकी रहेका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ । कार्यदलको बैठकमा यसअघि प्रस्ताव गरिएको अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको संयुक्त वक्तब्य जारी गर्ने विषयमा समेत छलफल भइरहेको जनाइएको छ ।
एमाले अध्यक्ष ओली पार्टी एक भएको सन्देश दिन सहमत भए पनि वरिष्ठ नेता नेपालले शेरबहादुर देउवालाई बुझाइएको हस्ताक्षरका कारण संयुक्त वक्तब्य जारी गर्न सहमति नदेखाउनु भएकोले पहिलो प्रयास असफल बनेको थियो । तथापि कार्यदलले संयुक्त बक्तब्यको मस्यौदा दुवै नेतालाई पठाइसकेको छ । कार्यदल बैठकले पार्टी एकता भएको सन्देश दिन संयुक्त वक्तव्य जारी गर्न अधिकतम प्रयास गर्ने बताइएको छ ।
कार्यदलका सदस्य भीम आचार्यका अनुसार आज र भोलिसम्ममा विवादका धेरै विषय समाधान हुने सम्भावना रहेको छ । उहाँले भन्नुभयो ‘आज पनि छलफल जारी छ, सबै बिषय भोलिसम्ममा टुंगो लाग्ने हामीले अपेक्षा गरेका छौं ।’ एमाले अध्यक्ष ओलीसँग माधव समुहका कार्यदल संयोजकसमेत रहनुभएका उपाध्यक्ष भीम रावलले लामो वार्ता गरेपछि टुंगिसकेको एकता फेरि सुरु भई कार्यदल ब्यूँताइएको थियो । कार्यदल सदस्यहरुका अनुसार पछिल्लो समय अध्यक्ष ओलीभन्दा बरिष्ठ नेता नेपाल एकताप्रति त्यति रुचिकर हुनुभएको छैन । तर उहाँलाई त्यो अवस्थामा पुग्न नदिने अठोटसहित माधव समुहका नेताहरुले प्रयास गरिरहनुभएको छ ।
विवाद समाधान कार्यदलमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली पक्षबाट नेताहरु सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवाली, शङ्कर पोखरेल, विष्णु रिमाल हुनुहुन्छ भने नेता नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, रघुजी पन्त, घनश्याम भुसाल रहनुभएको छ ।