काठमाडौं । निर्वाचन आयोगले छलफलका लागि बोलाएको जसपाका नेताहरु आज निर्वाचन आयोग पुगेर आ–आफ्नो दाबी पेश गर्दै अब एकै ठाउँमा बस्न नसक्ने भन्दै आयोगबाट बाहिरिनुभएको छ । निर्वाचन आयोगमा भएको छलफलमा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, अर्को तर्फबाट अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठलगायत शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो । आयोगको छलफलमा सहभागी हुनुभएका नेता अनिल झाले उपेन्द्र यादवले सँगै बस्न नसक्ने भनेर छुट्टिने माग गर्नुभएकाले त्यसैमा सहमति भएको बताउनुभयो । उहाँले अब जसपाको विवाद आयोगले आधिकारिक रुपमा टुंगो लगाउने जानकारी दिनुभयो । उहाँले अब मिल्न नसक्ने भएकाले नियामानुसार जाने भन्दै दुवै पक्षले हस्ताक्षर गरेको बताउनुभयो ।
निर्वाचन आयोगले यस अगाडि जसपामा दुवै पक्षले गरेका कारबाहीलाई ‘कानुनसम्मत नदेखिएको’ भन्दै अमान्य घोषित गरिदिएको थियो । आयोगले दुई अध्यक्षसहित पुरानै पदाधिकारी कायम रहने फैसला गरेको थियो ।
अध्यक्ष ठाकुर र अर्का अध्यक्ष यादवले पार्टी विधानविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी एक–अर्का पक्षलाई कारबाही गर्नुभएको थियो । दुवै पक्षले कारबाही गरिएको जानकारी दिँदै राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम अध्यावधिक गर्न आयोगलाई पत्र पठाएका थिए ।
यद्यपि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र आयुक्तहरू जानकीकुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरीप्रसाद पौड्यालको संयुक्त निर्णयमा जसपाका दुवै पक्षको निवेदनलाई खारेज गरिदिएको हो । यसप्रकारको जसपाको निषेधको राजनीतिकका कारण अब यो पार्टी लगभग फुट्ने पक्का जस्तै भएको राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् ।