काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच आज साँझ भर्चुअल वार्ता हुने भएको छ । प्रधानमन्त्री ओलीले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति सीसँग भर्चुअल वार्ता गर्नुहुने भएको हो । सो संवादमा प्रधानमन्त्री ओलीसहित नेपाली राजनीतिक दलका नेताहरुसँग चिनियाँ राष्ट्रपति सीले भर्चुअल छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयका अनुसार आज साँझ ६ बजे जुम मिटिङमार्फत् भर्चुअल छलफल गर्ने कार्यक्रम रहेको छ ।
सो सम्मेलनमा चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिङपिङले आफ्ना भनाइ राख्ने पार्टीको अन्तर्राष्ट्रिय विभागले जानकारी दिएको छ। ‘जनहित र राजनीतिक दलको जिम्मेवारी’ विषयमा हुन लागेको भर्चुअल सम्मेलनमा विश्वका एक सय ६० भन्दा बढी मुलुकबाट विभिन्न राजनीतिक दल तथा राजनीतिक संगठनका पाँच सय नेता र एक हजार प्रतिनिधिले सहभागी हुने सीपीसी अन्तर्राष्ट्रिय विभागले जानकारी दिएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको सय वर्ष पुगेको अवसरमा चीनले पछिल्लो समय छिमेकी तथा मित्रराष्ट्र मुलुकका नेता तथा सरकार प्रमुखसँग अन्तरक्रिया जारी राखेको छ ।